२०८२ माघ ७ , बुधबार

कृषि व्यवसायमा आधुनिकीकरण आवश्यक : कृषि मन्त्री शाह



कर्णाली प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बिनोदकुमार शाहले एभरेष्ट क्वलको साझेदारीमा डुंगेश्वर गाउँपालिकाको कृषि व्यवसायमा आधुनिकीकरण र लगनशीलताको आवश्यकता रहेको वताउनु भएको छ । मङ्गलवार डुङ्गेश्वर गाउँपालिकाको र्डाँडापराजुलमा भएको कृषि मेला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले उत्पादन बढाउन कृषि व्यवसायमा आधुनिकीकरण र लगनशीलता नै अहिलेको माग र आवश्यकता भएको र त्यसप्रती कृषकहरुको ध्यान दिन आवश्यक भएको वताउनु भएको थियो।

कृषि मेलामा प्रमुख अतिथिको रुपमा रहनु भएका मन्त्री शाहले कर्णाली प्रदेश सरकारले बैंकबाट लिएको कृषि ऋण सम्पूर्ण व्याज तिर्ने, मन्त्रालयले गर्ने वितरणमुखी कार्यक्रमहरुमा ५० प्रतिशत अनुदान लगायतका कार्यक्रमबाट लाभ लिन कृषकहरुलाई आग्रह गर्नुभएको थियो ।

 

कार्यक्रममा डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर केसीले गाउँपालिकाले पशुपालन, व्यवसायिक तरकारी खेती लगायतका कार्यक्रमहरुमा गाउँपालिकाले बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । त्यस्तै कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दसरथ पाण्डेले आफ्नो कार्यालयले जिल्लामा सीमित साधन श्रोतबाट ससाना सिचाई आयोजना, कृषि प्रविधि प्रसार, रैथाने बाली प्रवर्द्दनमा काम गरिहरेको र त्यसको भरपुर लाभ लिन सकिने कृषकहरुलाई  प्रष्ट्याउनुभयो ।

प्रदर्शनी कार्यक्रममा एभरेष्ट क्लवका महासचिव यज्ञराज थापा, कार्यकारी निर्देशक दिपक शाही, डुंगेश्वर गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपाने लगायतले कृषि व्यवसाय उत्पे्ररणाका लागि कृषि मेला र पोषणको सम्वन्ध बारे प्रष्ट पार्नुभएको थियो ।

मेलामा पोषण परियोजनाले गरिरहेका क्रियाकलाप र स्थानीय कृषकहरुले उत्पादन गरेका अन्न, तरकारी र फलफूल लगायतका कृषि उपजहरु र आधुनिक कृषि औजारहरु प्रदर्शनीमा राखिएका थिए ।

 

कृषि मेलाको समुदायमा गठित आमा समूहबीच कृषि र पोषणसम्वन्धि लोकगीत र नाच प्रतियोगिता भएको थियो । मेलालाई आकर्षण दिन स्थानिय कलाकारहरुले पनि साँगीतिक प्रस्तूती राख्नुभएको थियो ।

एकदिने उक्त कृषि मेला प्रदर्शनी कार्यक्रम डुङ्गेश्वर गाउँपालिकाको आयोजना, एभरेष्ट क्लव पोषण परियोजनाको सहयोग र कृषि विकास कार्यालय लगायतको साझेदारीमा सन्चालन गरिएको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर १० गते बुधबार