२०८२ माघ ७ , बुधबार

२२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस भव्यताका साथ सम्पन्न



“स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नाराका साथ २२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस शुक्रवार नारायण नगरपालिका दैलेखमा सम्पन्न गरिएको छ।

उक्त दिवसको अवसरमा भएको कार्यक्रममा नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य क्षेत्रको साथसाथै समुदायमा रहेका महिलाहरूको समग्र चेतना स्तर वृद्धि गर्न अग्रणी भूमिका निर्वाह गरेको र समुदायमा गरिने सम्पूर्ण सामाजिक कार्यहरूमा अहोरत्र खटिने हुँदा रोल मोडल को रूपमा रहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत लालबहादुर खड्काले २०४५ सालदेखि सुरु गरिएको सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले पोषण, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा, खोपसेवा, स्वास्थ्य आमा समूह सञ्चालन लगायतका कार्यहरूमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको कुरा जानकारी दिनुभयो। उहाँले विगतका वर्षहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाउनका लागि संघीय सरकारबाट बजेट विनियोजन हुँदै आएको तर यस वर्ष बजेट विनियोजन नभएको अवस्थामा साझेदार संस्थाहरूको सहयोगमा यस कार्यक्रम सम्पन्न गर्न सक्षम भएकोले साझेदार संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

दिवसको अवसरमा वोल्दै स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विश्वकर्माले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य सेवाको मेरुदण्डको रूपमा रहेको र उहाँहरूको योगदान मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा लगायतका अन्य स्वास्थ्यसँग सम्बन्धित सेवा तथा जनचेतनाहरू जनसमुदायसम्म पुर्‍याउनका निम्ति अतुलनीय रहेको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको ठूलो योगदान रहेको तर नेपाल सरकारले अझै पनि उहाँहरूको योगदान अनुसारको प्रोत्साहन गर्न नसकेको कुरा औल्याउनु भएको थियो। आगामी दिनहरूमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धिको लागि तालिम तथा पुनर्ताजगी तालिमहरू आयोजना गर्दै जानुपर्ने उहाँको भनाई रहेको थियो ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका नगर समितिका अध्यक्ष टीकादेवी जैसीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको जिम्मेवारी धेरै रहेको तर सो अनुसार सेवा सुविधा तथा प्रोत्साहन नरहेकोले जिम्मेवारी अनुसार काम गर्न कठिनाइ भएको गुनासो गर्नु भएको थियो। तीनै तहको सरकारबाट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको प्रोत्साहन तथा वृद्धि विकासको लागि बजेट तथा कार्यक्रम ल्याउनुपर्ने माग समेत जैसीले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विदाई भएर जाने तीन जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई कदरपत्र सहित सम्मान गरिएको थियो।

दिवसको अवसरमा जेष्ठ नागरिकसँग नगरप्रमुख कार्यक्रम अन्तर्गत  वृद्धावृद्धाहरूको निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण पनि गरिएको थियो।

नारायण नगरपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय दैलेखको समन्वयमा गरिएको उक्त कार्यक्रममा वान हार्ट वर्ल्डवाइड/ एभरेस्ट क्लब दैलेख, सोसेक नेपाल, सिएमसी नेपाल, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ लगायतका साझेदार संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

प्रकाशित मिति : २०८२ मंसिर १९ गते शुक्रबार