दैलेख । वान हर्ट वर्ल्ड वाइड र एभरेस्ट क्लब दैलेखको साझेदारीमा सञ्चालित मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाको जिल्ला परियोजना सल्लाहकार समिति बैठक सम्पन्न भएको छ ।
सोमवार दैलेख सदरमुकाममा भएको सो बैठकले परियोजनाको सक्रिय चरणको समापन र बहिर्गमन चरणको सुरुवातलाई औपचारिकता दिएको छ ।
जिल्ला समन्वय समिति दैलेखको आयोजनामा भएको उक्त वैठक जिल्ला समन्वय प्रमुख नमराज शाहीको अध्यक्षतामा भएको थियो ।
बैठकमा परियोजनाले हालसम्म गरेका गतिविधि, उपलब्धि, सिकाइ तथा राम्रा अभ्यासहरूबारे छलफल गरिनुका साथै आगामी दिनका लागि भावी कार्यदिशा तय गर्ने उद्देश्य राखिएको थियो।
एभरेस्ट क्लब दैलेखका कार्यकारी निर्देशक दीपक कुमार शाहीले परियोजना अप्रिल २०२६ देखि बहिर्गमन चरणमा प्रवेश गर्ने भएकाले त्यसबारे सल्लाह–सुझाव संकलन गरिएको बताउनु भयो ।
परियोजना संयोजक भावना खड्काले प्रस्तुतिकरणमार्फत हालसम्म ३७ वटा स्वास्थ्य संस्था व्यवस्थापन समितिलाई तालिम, ११ पालिकामा बजेट तथा योजना तर्जुमा गोष्ठी, १६ विद्यालयमा स्वास्थ्य कार्यक्रम, ४४ समुदायस्तरका अन्तरक्रिया कार्यक्रम तथा ६८ महिला स्वास्थ्य स्वयंसेविकालाई जन्मपूर्व तयारी सम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिनु भएको थियो । साथै भवानी स्वास्थ्य चौकीको भवन निर्माण तथा तिलेपाटा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर मर्मत स्थानीय सरकारसँगको साझेदारीमा सम्पन्न भएको उल्लेख गर्नु भयो ।
बैठकमा स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख मनोज विश्वकर्माले परियोजनाले ल्याएका उपलब्धिहरू ग्रामीण स्वास्थ्य संस्थामा स्पष्ट देखिएको र आगामी दिनमा स्थानीय सरकारलाई थप मजबुत बनाउनुपर्ने बतानु भयो ।
दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले परियोजनालाई दिगो बनाउन स्थानीय सरकारको भूमिकामा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
समापन मन्तव्यमा जिल्ला समन्वय प्रमुख नमराज शाहीले परियोजनाले ल्याएका उपलब्धि तथा प्रगतिहरू प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त भएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा हरेक परियोजना जिल्ला समन्वय समितिसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्