२०८३ वैशाख ७ , सोमबार

सिद्दपाईलाको सुविधाजनक बस सेवा सञ्चालनमा



सुर्खेत, वैशाख ७ — कर्णाली प्रदेशका यात्रुहरूका लागि सहज, सुरक्षित र आधुनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सुर्खेतस्थित सिद्धपाईला यातायात सेवा प्रालीले सुविधासम्पन्न नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ।
कम्पनीले “द कर्णाली टाईगर” नाम दिइएको डबल सस्पेन्सनयुक्त चौब्बल स्लिपर बसको आज एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेको हो। नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको यस सेवा वैशाख ८ गतेदेखि नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
सो यातायात प्रालीका सचिव दावा गुरुङका अनुसार सन्चालनमा आउन लागेको वस सेवामा भिआइपी सोफा सिटर, ए.सी., आरामदायी स्लिपर बेड, आधुनिक सुरक्षा प्रणालीलगायत उच्चस्तरीय सुविधाहरू समावेश गरिएको छ। “यात्रुहरूको समयसापेक्ष आवश्यकता, सेवा र सुविधालाई ध्यानमा राख्दै कर्णालीमै पहिलोपटक यस्तो स्तरको सेवा सुरु गरिएको हो,” उनले बताए।
नयाँ बस सेवा सुर्खेत–काठमाडौँ र काठमाडौँ–सुर्खेत रुटमा दैनिक रात्री सेवाका रूपमा सञ्चालन हुनेछ। कम्पनीले यस सेवामार्फत यात्रुहरूलाई सुरक्षित, सहज र गुणस्तरीय यात्रा अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
स्थानीय तह तथा यातायात क्षेत्रका सरोकारवालाहरूले यस पहललाई कर्णाली प्रदेशको यातायात क्षेत्रमा सकारात्मक परिवर्तनको रूपमा लिएका छन्। उनीहरूले यसले प्रदेशको पहिचान र विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार