२०८२ जेठ २९ , बिहीबार

विपद जोखिम न्यूनीकरण र व्यवस्थापन विषयक अन्तर्कृया सम्पन्न



विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कर्णाली प्रदेशका साङ्सदको भूमिका विषयक अन्र्तकृया भएको छ ।
विहिवार नेपाल क्षेत्रिय तथा शहरी अध्ययन प्रतिष्ठान काठमाण्डौको आयोजना युरोपियन युनियनको आर्थिक  सहयोग,युएनडिपि,युनिसेफ,युएनयुमनको प्राविधिक सहयोग र सुन्दर नेपाल संस्थाको स्थानीय सहजीकरणमा संञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर २) परियोजना अन्तरगत सो कार्यक्रम सम्पन्न भएको हो ।
विपद कसैले पनि अनुमान गर्न नसकिने सवाल भएको कारण यसको न्यूनिकरण एवं व्यवस्थापनमा प्रकृयागतरुपले सुधार गर्नका लागि कार्यक्रम गरिएको आयोजकले जानकारी दिएका छन। कार्यक्रममा विपद न्यूनिकरण तथा व्यवस्थापन चक्रलाई नीतिगत रुपमा नै आत्मसात गरी उत्थानशील कर्णाली बनाउन प्रदेश सभा सदस्यहरुले विपद पूर्व कानुन तथा नीति निर्माण,बजेट निर्माण समन्वय तथा सहकार्यमा जोड दिनुपर्ने, विपद प्रतिकार्य र पुर्नलाभका लागि कानुन तथा विकास कार्यको कार्यान्वयन अनुगमन गर्ने सबै पक्षको प्रतिनिधित्व एवं वकालत गर्नुपर्ने कुरामा प्रदेश सभा सदस्यहरु लाग्नुपर्ने कुरामा जोड दिइएको थियो ।
कार्यक्रममा सहजकर्ताको रुपमा सहभागी राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष जगदिश पोखरेलले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपदलाई अन्तर विषय मुद्धा,बहुक्षेत्रिय अधिकार,बहुसरोकारवालाहरुको संलग्नता र बहुविषयी विज्ञहरुको सहभागिता जरुरी पर्ने भएको वताउनु भएको थियो । उहाँले सेण्डाई फ्रेमवर्कका चारवटा प्राथमिकताका क्षेत्रहरु विपदलाई बुझ्ने,विपद जोखिम शासन प्रकृयालाई सुदृढ बनाउने,जोखिम न्यूनिकरण तथा उत्थानशीलता निर्माणमा लगानी गर्ने र प्रभावकारी प्रतिकार्यका लागि विपद पूर्व तयारी बढाउने र पुर्नलाभ,पुर्नस्थापना र पुर्ननिर्माणमा जोड दिएमा विपदलाई संस्थागत रुपले सम्बोधन गर्न सकिने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानुन मैत्री जितेन्द्र जिसिले संबैधानिक रुपमा व्यवस्था भएका कुराहरु पनि व्यवहारमा अभ्यास नभएको संघिय कानुनका कारण पनि प्रदेशमा विपदका सवाललाई सम्बोधन गर्न असहज भएको कुरा बताउनु भयो । प्रदेशको डिपिआरपी बनाउदा वास्तविक श्रोत साधनको आंकलन गर्ने र त्यसलाई व्यवहारतह लागु गर्न सके विपद न्यूनिकरण गर्न सहयोग पुग्ने कुरा बताउनु भयो । यसैगरी प्रदेश सभा सदस्य कल्याणी खड्काले विपद प्रतिकार्यका लागि हाम्रा संयन्त्रहरु तुरुन्तै कामयावी नभएको बताउनु भयो । समस्या परेपछि मात्र त्यसतर्फ ध्यान जान्छ । तीन तहका सरकारको समन्वय सहकार्यलाई मजवुत बनाउन सके मात्र विपदलाई सामुहिक रुपले व्यवस्थापन र न्यूनिकरण गर्न सकिने बताउनु भयो । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य टेकराज पछाईले नीतिगत अस्पष्टताहरुलाई प्रदेश सभा मा छलफल गरी सामुहिक रुपले पहल गर्नुपर्ने र तीनै तहमा प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्ने कुरा उल्लेख गर्नु भयो । यसैगरी प्रदेश सभा सदस्य हिक्मत विष्टले विपद न्यूनिकरण तथा व्यवस्थापन गर्नको लागि स्थानीय तहमा हुने योजना तर्जुमा तथा बजेट निर्माण गर्ने वेला नै समेटेर लिन सकियो भने यसलाई प्रभावकारी रुपले समाधान निकाल्न सकिने बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य विन्दमान विष्ट,पुर्णबहादुर खत्री,बलिमाया बुढा,दक्षिणा शाही,तुलसा मल्ल,मंगल शाही,रणसिंह परियार,मिलन खड्का,इन्द्रा शाही विरबहादुर शाहीले पनि विपदको क्षेत्रमा गरेका कामको सकारात्मक परिणाम निकाल्नको लागि तीन तहको सरकारले आफनो भूमिका अनुसार कार्य गर्ने र अन्तरसरकारी समन्वय सहकार्यलाई बढावा दिनुपर्ने कुरा बताउनु भएको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल क्षेत्रिय तथा शहरी अध्ययन प्रतिष्ठान का अध्यक्ष तथा पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. जगदिश पोख्रेल,डा अजय चन्द्रलाल र डा.सुमन प्रधानले गरेका थिए ।

प्रकाशित मिति : २०८१ चैत १४ गते बिहीबार