२०८२ पुस २ , बुधबार

फिनल्याण्डका राजदुतद्वारा मध्यपश्चिम विश्वविद्यालयको स्थलगत भ्रमण



नेपालका लागि फिनल्याण्डका राजदुत पेट्री पुहक्का सहितको टोलीले शुक्रवार वीरेन्द्रनगर, सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयको स्थलगत भ्रमणसँगै विश्वविद्यालय परिवारसँग छलफल गर्नुभएको छ ।
भेटका अवसरमा राजदूत पेट्रीले विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतम सहित सरोकारवाला पक्षसँग छलफल गर्नुभएको हो ।
राजदूत पेट्रीले आफ्नो आगमन पश्चात् नेपाल स्थित विश्वविद्यालयहरु मध्ये पहिलोपटक मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गरेको र यसबाट आगामी दिनमा एक आपसमा गर्न सकिने थप सहकार्यका लागि आफू निकै उत्साहित भएको बताउनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा डा गौतमले नेपाल र फिनल्याण्ड बीचको सम्बन्ध मित्रतापूर्ण एवम् विकास सहयोगमा आधारित भएको बताउँदै महामहिम राजदूतको भ्रमणले आगामी दिनमा शिक्षाको विकासमा कर्णालीमा रहेको यस विश्वविद्यालय मार्फत थप सहकार्यको ढोका खोल्ने विश्वास ब्यक्त गर्नुभयो ।
सो विश्वविद्यालय विभिन्न संकायका डीन, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन सहप्रमुख, कार्यक्रम निर्देशक, विभागीय प्रमुख, कर्मचारी, स्ववियु लगायतको उपस्थिति रहेको कार्यक्रममा उपकुलपति गौतमले राजदुत पेट्री, फिनल्याण्ड राजदुतावासका सहकार्य विभाग प्रमुख सारा अलानेन र उहाँको टीमलाई विश्वविद्यालय प्रवेशका सन्दर्भमा स्वागत तथा छलफल पश्चात् धन्यवाद सहित मायाको चिनो प्रदान गर्नुभएको थियो ।

दुई मुलुकबीच कूटनीतिक सम्बन्ध सन् १९७४ मा स्थापना भएयता फिनल्यान्ड नेपालका लागि विश्वासिलो विकास साझेदारका रूपमा परिचित भएकाले पनि विश्वविद्यालयले राजदूत पेट्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा लिएको वुझिएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार