२०८२ पुस २ , बुधबार

एभरेष्ट क्लवद्वारा गाउँपालिकालाई ग्रामीण भिडियो एक्स–रे मेसिन सहयोग



एभरेष्ट क्लवद्वारा दैलेखको भैरवी गाउँपालिकालाई ग्रामीण भिडियो एक्स–रे मेसिन सहयोग प्रदान गरिएको छ ।

आधारभूत स्वास्थ्य सेवामा ग्रामीण जनताको पहुँच सुनिश्चित गर्न वान हार्ट वर्ल्डवाइड र एभरेष्ट क्लब दैलेखको सहकार्यमा, स्थानीय सरकारको साझेदारीमा सञ्चालित मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना अन्तर्गत भैरवी गाउँपालिका, दैलेखलाई ग्रामीण भिडियो एक्स–रे मेसिन हस्तान्तरण गरिएको हो। शुक्रवार एक कार्यक्रमका विच एभरेष्ट क्लवका वरिष्ठ उपाध्यक्ष वालकृष्ण केसीले गाउँपालिका उपाध्यक्ष देवी भण्डारीलाई हस्तान्तरण गर्नु भएको थियो ।

गर्भवती महिलाहरूको गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था समयमै पहिचान गरी जोखिम घटाउने उदेश्यले भिडियो एक्स–रे सेवा अत्यन्तै आवश्यक देखिएकोले उक्त मेशिन गाउँपालिकालाई प्रदान गरिएको एभरेष्ट क्लवका वरिष्ठ उपाध्यक्ष केसीले जानकारी दिनु भयो । ग्रामीण क्षेत्रका गर्भवती आमाहरूका लागि टाढाको स्वास्थ्य संस्थामा जानु खर्चिलो र जोखिमपूर्ण हुने भएकाले यो सेवा उनीहरूका लागि सहज र सुरक्षित विकल्प बन्ने उहाँले वताउनु भयो ।

मेशिन हस्तान्तरण कार्यक्रममा वोल्दै गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले स्वास्थ्य सेवा सुदृढीकरणमा सहयोग गरेकोमा वान हार्ट वर्ल्डवाइड र एभरेस्ट क्लब दैलेखलाई धन्यवाद दिदै आगामी दिनमा साझेदारीमा कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाको सहयोग हुने प्रतिवद्दता व्यक्त गर्नु भयो ।

साझेदार सस्था वान हार्ट वर्ल्डवाइडका जिल्ला संयोजक सन्तराम चौधरीका अनुसार उक्त ग्रामीण भिडियो एक्स–रे मेसिनको मूल्य २ लाख २३ हजार ५ सय ३० रहेको छ ।

नवजात शिशुहरू शारीरिक अपाङ्गता भएर जन्मिनु, गर्भपतन हुनु, वा जटिल प्रसूति समस्याको कारण आमाको र बच्चाको ज्यान जोखिममा पर्नेजस्ता समस्याहरू अब यस उपकरणको प्रयोगबाट कम हुने वुझिएको छ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार