२०८३ जेठ १९ , मंगलबार

दैलेखमा चैत्र २६ देखि वैशाख ५ गतेसम्म महोत्सव हुँदै



दैलेख सदरमुकाममा यहि चैत्र २६ देखि वैशाख ५ गतेसम्म दैलेख  सास्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ ।

कला, संस्कृति संरक्षण तथा पर्यटन पवद्र्धन गर्न,दैलेख जिल्लामा उत्पादित कृषिजन्य वस्तुको बजारिकरण, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सव–२०८१ सन्चालन गर्न लागिएको आयोजकले जानकारी दिएका छन ।
आईतवार दैलेख सदरमुकाममा पत्रकार सम्मेलन मार्फत धार्मिक तथा ऐतिहाँसिक दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सव २०८१ संचालन हुने महोत्सव मुल समारोह समितिका संयोजक भुपेन्द्र शाहीले जानकारी दिए । उनले यहि चैत्र २६ गते महोत्सवको उद्घाटन गरी २७ गतेदेखी बैशाख ४ गतेसम्म संचालन हुने र बैशाख ५ गते समापन गरिने वताए ।
दैलेख जिल्लाका स्थानीय तहमा उत्पादन हुने कृषि वस्तुहरूको वजारिकरणका साथै स्थानीय कलासंस्कृति झल्कने लहरेपैसरी नाच, ढालतरवार नाच, देउडा तथा रत्यौली नाच, हुड्के नाच, मयुर नाच, टप्पा नाच, गर्रा नाच प्रदर्शनी एवं प्रवद्र्धन गरिने संयोजक शाहीले वताए ।
उनले महोत्सववाट भएको आम्दानीवाट नारायण नगरपालिका-७ किमुगाउँमा संचालित वेद विद्याआश्रम र दैलेखको नाभिस्थानमा संचालित वेद विद्याआश्रममा आवश्यक पर्ने एक वर्षभरी पुग्ने खाद्यान्न सहयोग गर्नुका साथै सामाजिक उत्तरदायी अन्तरगत नारायण नगरपालिका ६ मा रहेको शहिद मयाराम स्मृति प्रतिष्ठान पार्कमा सार्वजनिक शौचालय निर्माण गरिने पनि जानकारी दिए ।
संयोजक शाहीका अनुसार जिल्लामा लोप हुन लागेका साँस्कृतिक सम्पदा र परम्परागत जीवन शैलीलाई प्रतिनिधित्व गर्ने प्रविधि र संसाधनहरुको जगेर्ना गरिने तथा स्थानीय परम्परागत शिप, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिने छ ।
आयोजकका अनुसार महोत्सवका माध्यमवाट धार्मिक, सांस्कृतिक एवं ऐतिहांसिक क्षेत्रहरुको राष्ट्रिय तथा अर्न्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न स्थानीय मिडियादेखी राष्ट्रिय स्तरका पत्रपत्रिका, टेलिभिजन र अनलाईनहरुमा विज्ञापन तथा जिंगलहरु प्रसारण गरिने वुझिएको छ ।
दैलेख सदरमुकामको काँडाचौरमा नौ दिन संचालन हुने महोत्सवमा जिल्लाको विविधता झल्किने सांस्कृतिक झाँकी, संस्कृति र भेषभुषा, धार्मिक तथा पर्यटकिय स्थलको अवलोकन तथा प्रचारप्रसारका साथै स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको साँगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सव स्थलभित्र स्थानीय उत्पादन, कला, संस्कृति, पेसा–व्यवसाय र रैथाने परिकार प्रदर्शन तथा व्यापारिक प्रायोजनका लागि एक सय भन्दा वढि स्टल राखिने आयोजक संस्थाहरुले जनाएका छन् । महोत्सवमा २५/३० लाख रुपियाँको कारोबार हुने आँकलन गरिएको छ ।
रेडियो मातृभूभी एफ.एम. ९६.५ मेगाहर्ज दैलेख र स्वच्छ शहर निर्माण केन्द्र दैलेख मुख्य आयोजक रहेको दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सवको सह-आयोजकमा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दैलेख र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दैलेख रहेका छन् । त्यसैगरी दैलेखको नारायण नगरपालिका संरक्षक तथा प्रवर्द्दक रहेको आयोजकले जनाएको छ ।
नौ दिनसम्म सञ्चालन हुने महोत्सवको दैलेख जिल्लाका साथै छिमेकी जिल्लाहरु जाजरकोट, कालिकोट, अछाम र सुर्खेतका झण्डै ३० हजार मानिसले अवलोकन गर्ने आयोजक रेडियो मातृभूमी एफ.एम. दैलेखले जनाएको छ । महोत्सवमा प्रतिव्यक्ति एक सय रुपियाँ प्रवेश शुल्क तोकिएको छ ।

प्रकाशित मिति : २०८१ चैत १७ गते आइतबार